पाल्पा र स्याङ्जा जोड्ने गौरीघाटको पुल निर्माण अन्तिम चरणमा

पाल्पा,। पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीको गौरीघाटको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाको वडा नं ६ र चापाकोट नगरपालिकाको वडा नं ७ जोड्ने सो पुल आउँदो फागुनभित्रमा सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

अहिलेसम्म ८० प्रतिशत पुल निर्माणको काम सकिएको छ भने बाँकी २० प्रतिशत काम फागुनभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले २०७२ साल फागुन १६ गते शिलान्यास गरेर पुल निर्माण अगाडि बढाएको हो ।

शिलान्यास भएको तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले कामलाई तीव्र रुपमा अगाडि बढाएको छ । १७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा सम्झौता भई निर्माण सुरु भएको हो । अहिले पुल निर्माणमा तीन वटा स्काभेटर र २५ जना कामदार परिचालन गरिएको निर्माण कम्पनीका प्रतिनिधि एवम् चापाकोट नगरपालिका–७ का वडाध्यक्ष एकदेव भट्टराई बताउछन् ।

“पाल्पाको भागमा सबै काम सकियो, अहिले स्याङ्जातर्फको भागमा डाइभर्सन र फिलिङ गर्ने काम भइरहेको छ, बिहान ६ देखि साँझ अबेरसम्म कामदार निरन्तर काममा खटिएका छन्,” उनले भने । कालीगण्डकीमा निर्माण भएका पक्की पुलमध्ये गौरीघाटको पुल यस क्षेत्रकै नमूनाका रुपमा निर्माण भएको रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

पुल निर्माणमा ठेकेदार कम्पनीले धेरै ठाउँमा आलटाल गरी पटकपटक म्याद थपेर काम गरेका बेला यहाँ तीव्र रुपमा निर्माण भइरहेको देखेर स्थानीयवासी दङ्ग छन् । पुल यति छिट्टै बन्छ भनेर हामीले सोचेका थिएनौँ, निर्माण कम्पनीले पुल शिलान्यास भएदेखि नै निरन्तर काम गरिरहेकाले निर्माण कार्य अन्तिम चरणमा पुगेको स्थानीयवासी सुन्दर देवकोटाले बताए । “धेरै ठाउँमा ठेकेदारले शिलान्यास गर्ने, बीचमै काम छाडेर अन्यत्र कामको जिम्मा लिने गरेको देखेको, त्यस्तै यहाँ पनि होला भनेर शुरुमा यति चाँडो बन्छ भन्ने आशा थिएन, तर सोचेभन्दा विपरीत भयो,” उनले भने ।

पुल निर्माण सम्पन्न भएपछि पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिकालगायत स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । यो पुल निर्माण सम्पन्न भएपछि रामपुर नगरपालिका र चापाकोट नगरपालिकाको विकासमा ठूलो टेवा पुग्नेछ । गौरीघाट नजीकै रहेको रामपुर नगरपालिकाको प्याक्लुक र चापाकोट नगरपालिकाको दामाचौर जोड्ने प्याक्लुक दामाचौर पक्की पुल भने लामो समय भइसक्दा पनि अझै निर्माण शुरु हुन सकेको छैन । रासस

Comments

Popular posts from this blog

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

सञ्जय दत्तकी पत्नीको अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)